दुई वर्षअघि आफूलाई पाठेघरको मुखको क्यान्सर भएको थाहा पाएरै पनि प्राण माया केसीले लामो समयसम्म रोग लुकाउनुभयो ।
पाटन बङ्गलामुखीकी ६६ वर्षीय केसीले पाठेघरको जाँच गराउन र डाक्टरलाई भन्न लजाउँदा उपचारको क्रममा निकै पीडा बेहोर्नुपर्‍यो । तर आफ्नो घर नजिकै आयोजना भएको स्वास्थ्य शिविरमा सहभागी एक चिकित्सक उहाँको प्रेरणा बन्यो । समस्याबारे मुख खोलेर भन्न हिचकिच्याउने केसीलाई ती चिकित्सकले सोधपुछ र परीक्षण गरे र त्यसपछि मात्र उहाँले आफ्नो व्यथा पोखिन् । त्यसपछि चिकित्सकको सल्लाहबमोजिम उहाँ जावलाखेलस्थित नेसनल क्यान्सर हस्पिटल पुगिन् ।
पहिला थाहा पाएको रोग बेलैमा उपचार गराउन पाएको भए धेरै पैसा खर्च हुने थिएन । लाज मानेकै कारण दोस्रो चरणमा पुगेको क्यान्सरको उपचारमा कष्ट धेरै खानुपर्‍यो, पैसा पनि धेरै लाग्यो ।
ढिलै भए पनि परिवारले माया मारिसकेकी केसीको १३ दिनसम्म अस्पताल धाएर केमोथेरापी (क्यान्सरका कोष तथा कोषिकाहरूलाई कम गर्ने तथा मार्नका लागि प्रयोग गरिने औषधि) उपचार भयो । अहिले स्वास्थ्य राम्रो छ, तर बेलैमा समस्या नभनेकामा उनलाई पछुतो लागेको छ ।
पाठेघरको क्यान्सरको उपचारका लागि उहाँले करिब नौ लाख खर्च गर्नुपरेको रहेछ ।
केसीले भनिन्– “मलाई पहिले नै थाहा थियो पाठेघरको समस्या (क्यान्सर) भनेर तर मैले समाजका कसरी मुख देखाउने भनेर लाजले भनिन्, समयमै भनेको भए आज मेरो यस्तो अवस्था हुने थिएन ।”
अझै पनि समाजमा आफूजस्ता महिलाहरू धेरै रहेको र उनीहरूले आफ्नो समस्या लुकाइआएकाले समस्या झनै बढ्दै गइरहेको उहाँको भनाइ छ । हेर्दा बिरामी जस्तो पनि नदेखिने र भित्र पीडा भएको पनि थाहा नहुने यो समस्या खासगरी पाठेघरको क्यान्सर भएका केसी जस्तै धेरै महिलाहरूको रहेको यसका बिरामीहरूसँग कुरा गर्दा पाइयो ।
केसीको जस्तै पाठेघरको समस्या भएकी काठमाडौं कालोपुलकी ४५ वर्षीय शर्मिला श्रेष्ठलाई पनि छ महिनाअघि पाठेघरको मुखको क्यान्सर भएको रहेछ । उहाँले पनि लामो समयसम्म बताउनु भएन । सुरुमा ढाड दुखेजस्तो भएपछि हड्डीको समस्या हो कि भनेर मेडिकेयर अस्पतालमा परीक्षण गराउनुभयो । त्यहाँ भिडियो एक्सरे गरेर चिकित्सकको सल्लाहपछि मात्र उहाँ नेसनल क्यान्सर हस्पिटल जावलाखेल पुगिन् ।
उनको पनि दोस्रो चरणमा पुगिसेकेको क्यान्सरको उपचार गर्न रु दुई लाखभन्दा बढी खर्च भयो । उनी भन्छिन्, “म पनि पहिला रोगबारे बताउन लजाएँ त्यसैले दोस्रो चरणमा पुगेको रोगको उपचार गर्दा खर्च र पीडा दुबै बढी भयो ।”
यस्तै भोजपुर लेकखर्कका ६९ वर्षीय बर्ज किँरात राई पनि फोक्सोको रोगले चार वर्षदेखि पीडित हुनुहुन्छ । आठ, नौ लाख रुपैयाँ खर्च भइसकेको बताउने राई हाल सोही अस्पतालमा उपचार गराइरहेका छन् ।
केमोथेरापी, रेडियोथेरापी गरिसकेका राईको फोक्सोमा फेरि पानी जम्ने समस्या आएको छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरमा काम गर्ने राई उपचारकै लागि तीन महिना काजमा आएर कीर्तिपुरमा डेरा गरी बसेका छन् । राई दम्पती उपचारमा सबै सम्पत्ति सकिएको बताउँछन् । रेडियोथेरापी मात्र गर्न एक महिना पुरै लाग्ने भएकाले यतै बसेर उपचार गरिरहेको पीडित राईले बताए ।
अधिकांश पाठेघरको मुखको क्यान्सर भएका महिलाहरू प्रायः दोस्रो चरणमा अस्पताल पुग्ने गरेको अस्पतालले जनाएको छ । पाठेघरको मात्र हैन अन्य प्रकारका क्यान्सर रोगका बिरामी पनि रोग पाकिसकेपछि मात्र आउने गरेको अस्पतालको भनाइ छ ।
नेपालमा क्यान्सर रोगमध्ये सबैभन्दा बढी महिलाको पाठेघरको क्यान्सर हुने गरेको र समयमै थाहा पाए पनि लाजमान्ने प्रवृत्ति र जनचेतनाको अभावले रोगको दोस्रो चरणमा मात्र बिरामी अस्पताल आइपुग्ने गरेको बताउँछन्, नेशनल क्यान्सर अस्पिटलका प्रमुख एवम् क्यान्सर रोग विशेषज्ञ डा मदनकुमार पिया ।
उनले भने, “क्यान्सर रोग घट्नुको साटो वर्षेनि बढिरहेको छ, नेपालमा मात्र हैन विश्वमै बढिरहेको छ । बिरामीले रोग थाहा पाए पनि ढिलो गरी अस्पताल आउने प्रवृत्तिले यो झनै बढेको हो ।”
क्यान्सर विशेषज्ञ पियाले हाल ८० प्रतिशत क्यान्सर रोगका बिरामी धूमपान र मद्यपानकै करण भएको बताउँदै यस रोगबाट बच्न जीवनशैलीमा सुधार ल्याउनुपर्ने सुझाव दिन्छन् ।
तथ्याङ्कअनुसार नेपालमा वर्षेनि ६० हजारभन्दा बढी मानिसलाई विभिन्न प्रकारको क्यान्सर रोग लाग्ने गरेको छ र उनीमध्ये ४० हजारको वर्षेनि मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा एक करोड ४० लाख क्यान्सर रोगी प्रतिवर्ष थपिन्छ र ८० लाखको पहिलो मृत्यु हुन्छ ।
नेपालमा पाठेघर, फोक्सो, पेट (आमाशय), रगत, स्तनको क्यान्सर बढी पाइएको छ । पहिला क्यान्सर हुँदा ठूलो पैसा जम्मा गरेर विदेश ताक्नुपथ्र्यो, अहिले नेपालमै उपचार सहज भएको छ ।
हाल नेपालमा क्यान्सर रोगका ६० भन्दा बढी प्रकारका औषधि पाइन्छ । हस्पिटलका अनुसार भारतमा उत्पादन हुने क्यान्सर रोगको औषधि धेरै सस्तो भएको छ ।
शरीरका स–साना कोषिकाहरूको विभाजन अनियन्त्रित तरिकाबाट हुन गएमा अथवा कोषिकाहरूलाई नियन्त्रण गर्ने क्षमता कम हुँदै गएमा क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ । क्यान्सरका चारवटा चरणहरू हुन्छन् ।
यसैबीच विश्व क्यान्सर दिवसको उपलक्ष्यमा हरेक वर्ष फेब्रुअरी–४ का दिन विश्व क्यान्सर दिवस मनाइन्छ । यसवर्ष पनि आज नेशनल क्यान्सर अस्पिटलले ‘क्यान्सरबारे के तपाइँलाई थाहा थियो’ भन्ने नारासहित यो दिवस मनाएको छ ।
क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले आज निःशुल्क स्वास्थ्य शिविर र बिरामीहरूसँग अन्तरक्रियालगायतका कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले आजैबाट चारवटा शय्या गरिब बिरामीका लागि छुट्टाएर निःशुल्क उपचार सेवा दिने घोषणा गरेको छ ।